स्वागतम समाचारदाता
जनकपुरधाम, मंसिर २९ ।
प्रदेश नं २ को प्रदेश सभा बैठकमा दुई वटा अध्यादेश पेस गरिएको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेश सभामा पेस गर्नुभएको छ । अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आउँदो पुस ८ गते बिहीवार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । सामाजिक विकासमन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेश सभामा पेस गरेका छन् ।
सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यादेश पेस गर्न नदिने भन्दै बैठकमा अवरोध गरेको थियो । पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश सभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठकमा अवरोध गरिएको जानकारी दिए । उहाँले अध्यादेश फिर्ता नहुँदासम्म संसद् चल्न नदिने पनि बताए । सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गरेका थिए । लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेश सभा १५ मिनेटका लागि स्थगित गरी फेरि सुरु भएको बैठकमा अध्यादेश पेस भएको हो ।
यता प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी रहेको प्रस्तावलाई हटाइएको हो । यसैबीच प्रदेश नं २ को प्रदेश सभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गरेका छन् ।