स्वागतम समाचारदाता
जनकपुरधाम, पौष १ ।
प्रदेश नं.२ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही योजनामा उजरीको आधारमा अनुसन्धान गरिरहेको छ । भ्रष्टाचार भएको भनी परेको उजुरीका आधारमा अख्तियारले केही योजना भ्रष्टाचारी भएको उजुरीको आधारमा अनुसन्धान शुरु गरेको जनाएको छ ।
तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको कार्यकालमा भएको विकासे योजनाको अख्तियारले अनुसन्धान गरिरहेको छ भने केही योजनाका फाइलहरु झिकाउन मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।
योजनामा भ्रष्टाचार भएको भन्ने उजुरीको आधारमा अहिलेसम्म करिव २० वटा योजनाको छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका सूचना अधिकारी उपसचिव मनिराम ज्ञावालीले बताएका छन् । सडक निर्माण सम्बन्धी २० वटा योजनाको स्थलगत नापजाँच गरिएको उनको भनाइ छ ।
उक्त मन्त्रालयमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा थुप्रै उजुरीहरु समेत परेको अख्तियार स्रोतले जनाएको छ ।
तत्कालिन मन्त्री सोनल हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का अध्यक्ष एवं संसदीय दलका नेता हुन् । प्रदेश सरकार स्थापनाको समय तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट नेतृत्व गर्दै सोनल भौतिक पूर्वाधारमन्त्री बनेका थिए ।
हाल सो प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री नेपाली कांग्रेसका रामसरोज यादव छन् ।