स्वागतम समाचारदाता
सिरहा, पौष ४ ।
सिरहामा छुरा प्रहार घटनामा एक युवकको मृत्यु भएपछि स्थानीयले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । घटनाको विरोधमा स्थानीयबासीले आइतवार बिहानैदेखि गोलबजार स्थित पूर्वपश्चिम राजमार्गको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ डोहटिया टोलका स्थानीय २६ वर्षीय रामकुमार सदामाथि शनिबार साँझ छुरा प्रहार भएको छ । छुरा प्रहारपछि सदाको मृत्यु भएको थियो भने स्थानीय १९ वर्षका अर्का युवक निकेश सदा गम्भीर घाइते भएका छन् । उनको उपचार मेडिसिटी अस्पतालमा भईरहेको छ ।
दुई समूहबीच छुरा हानाहान भएको सिरहा प्रहरीले बताएपनि अर्को एक समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन् । यता दोषीलाई यथासिघ्र पक्राउ गरी कारबही गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपुर्ति दिनु पर्ने लगायतका माग राखेर स्थानीयहरुले गोलबजारको व्यवसाय समेत बन्द गराउँदै चक्का जाम गरेका छन् ।
उनीहरु ईलाका प्रही कार्यालय गोलबजार अगाडी समेत प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुझाथोकीले घटना विषयमा अनुसन्धान भइरहेको र दोषीको खोज्ने कार्य जारी रहेको बताएका छन् ।