स्वागतम समाचारदाता
जनकपुरधाम, पौष ७ ।
नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा बुधवार दुई पक्षबीच कुटाकुट भएको छ । अधिवेशनको क्रममा मतदानको विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको हो ।
नेपाली कांग्रेस प्रदेश २ का सभापति पदका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो । जनकपुरधाममा भईरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहिवारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।
सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । अब बिहिवार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिएका छन् ।