विनोद महतो
महेन्द्रनगर, पौष १० ।
सरकारले यस वर्षका लागि उखुको मुल्य निर्धारण नगर्दा पनि सिरहाको चन्द्रअयोध्यापुरमा रहेको हिमालय सुगर मिल्स लिमिटेडले यस वर्षका लागि उखु क्रसिङ्ग सुरु गरेको छ । सरकारले किसानको उखुको मुल्य नतोकेपनि मिलले यस वर्षका लागि अहिले शुन्य मुल्य राखेर पौष ७ गतेदेखि उखु क्रसिङ्ग सुरु गरेको जनाएको छ । सरकारले उखुको प्रति क्वीन्टल मुल्य तोकेपछि त्यहि अनुसारको मुल्य किसानलाई उपलब्ध गराउने मिलका कार्यकारी संचालक सरेश सराफले बताएका छन् ।
शनिवार धनुषाको नक्टाझिजमा उखु किसानहरुको बैठकमा बोल्दै मिलका कार्यकारी संचालक सराफले गत वर्ष उखुको मुल्य प्रति क्वीन्टल ५ सय ४४ रुपैयाँ कायम थियो, अहिले त्यसै मुल्यमा मिलले ४० रुपैयाँ थप गरेर ५ सय ८४ रुपैयाँ प्रति क्वीन्टल किसानलाई उपलब्ध गराउने बताए । सरकारले उखुको मुख्य तोक्ने वितिकै सरकारी दररेट लागु हुने उनको भनाइ थियो ।
कार्यकारी संचालक सराफले भने, –‘हामीले अहिले किसानलाई गत वर्षको मुल्यमा प्रति क्वीन्टल ४० रुपैयाँ थप गरेर ५ सय ८४ रुपैयाँ तोकेछौं, यदि सरकारले सोभन्दा बढी मुल्य तोक्यो भने हामी सरकारले तोके अनुसार उपलब्ध गराउँछौ तर सरकारले सो भन्दा कम मुल्य तोक्यो भने पनि हामी ५ सय ८४ रुपैयाँ नै किसानलाई उपलब्ध गराउँछौ ।’
सोहि बैठकमा मिलका उखु महाप्रबन्धका अवधकिशोर यादवले धनुषाको पश्चिमी क्षेत्रबाट मिलमा उखु ढुवानी गर्ने ट्याक्टरका लागि ढुवानीमा प्रति क्वीन्टल १० रुपैयाँ थप दिने निर्णय भएको बताएका छन् । ढुवानीमा पहिला ६५ रुपैयाँ दिँदै आएको थियो भने अहिले डिजलको मुल्य बढेकाले सोहि अनुसार ढुवानीमा पनि १० रुपैयाँ प्रति क्वीन्टल थप गरिएको उनले बताए ।
हिमालय सुगर मिलले यस वर्ष १३ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य राखेको मिलका उखु महाप्रबन्धक यादवले जानकारी दिए । गत वर्ष सो मिलले ११ लाख क्विन्टल उखु क्रसिङ्ग गरेको थियो ।
सो मिलको उखु क्रसिङ्ग गर्ने क्षमता प्रतिवर्ष २० लाख क्विन्टल रहेको उनले बताए । तर उखु नपुग्दा प्रतिवर्ष ११ देखि १४ लाख क्विन्टलको बीचमा मात्र उखु क्रसिङ्ग गर्ने गरेको महाप्रबन्धक यादवले जानकारी दिए ।
यसैबीच उखु किसानहरुको सोही भेलाले कृषकहरुलाई दिन बाँकी रहेको नेपाल सरकारबाट प्राप्त हुने २०७५ सालको उखुको बाँकी वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु.६५ का दरले बाँकी रहेको ५३ लाख रुपैयाँ दामासाही रुपमा मिलबाट किसानलाई वितरण गर्ने र कृषकहरुलाई उखुको बिउँ वृद्धिका लागि मिलबाटै उन्नत जातको पोलिब्याग वितरण निर्णय समेत गरेको छ ।
सो भेलामा हिमालय सुगर मिल्सका कार्यकारी संचालक सरेश सराफ, उखु महाप्रबन्धक अवधकिशोर यादव, मिलका विभिन्न क्षेत्रको जेटिए र धनुषाको पश्चिमी दक्षिणी क्षेत्रका किसानहरुको उपस्थिति रहेको थियो । यो निर्णय भएपछि उखु किसानहरुले हिमालय सुगर मिललाई नै उखु बेच्ने बताएका छन् । यस अघि मिलले किसानलाई सरकारबाट पाउने २०७५ सालकै प्रति क्वीन्टल रु. ६५ का दरले अनुदान रकम उपलब्ध नगराएपछि यस क्षेत्रका उखु किसानहरुले यस वर्ष मिललाई उखु नबेच्ने भन्दै उखु कटानी र ढुवानी गरेका थिएनन् ।