स्वागतम समाचारदाता
जनकपुरधाम, पुस १३ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्लामा पौष १४ गते बुधवार चक्का जाम गर्ने घोषणा गरेको छ । सिरहामा जनमतले गरिरहेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषा जिल्लामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ ।
जनमत पार्टीको जिल्ला समन्वय समिति धनुषाले मंगलबार एक विज्ञप्ती जारी गर्दै पौष १३ गते मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन र बुधवार जिल्लाभर चक्का जाम गर्ने जनाएको जनाएको छ । १४ गते बुधवार जिल्लाको सदरमुकाम जनकपुरधाममा रैली गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितिका दिपनारायण यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता जिल्ला बन्दको क्रममा अतिआवश्यक सवारी साधन एम्बुलेन्स, वारुण यन्त्र, स्कुलका गाडी, प्रेस लगायतको गाडीलाई नरोकिने पार्टीका जिल्ला अध्यक्ष ओम विक्रम कुशवाहाले बताएका छन् । उनले उखु ढुवानी गर्ने टयाक्टरलाई नरोकिने बताएपनि यो आन्दोलन किसानकै लागि भएकोले एक दिनको लागि बन्द गरेर सहयोग गरिदिन किसानलाई आग्रह गरेका छन् ।
सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको विउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएको भन्दै जनमत पार्टीले विभिन्न माग राख्दै आन्दोलन गरिरहेको छ । सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ, भने जनमत पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको हो ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र नछाडे सिरहाका एसपीलाई जनकारवाही गर्ने धम्की समेत दिएका छन् ।