स्वागतम समाचारदाता
सुनसरी, पौष १३ ।
सुनसरी जिल्लाबाट अटोमेटिक दुई थान पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका वडा नं. १ लौकही बजारमा रहेको बी.एस. होटलबाट दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र चार थान म्यागजिन बरामद गरेको छ । बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको सुपर स्पेलेन्डर मोटरसाइकलसमेत बरामद गरेको बताएको छ । सोधपुछका क्रममा भारतीय नागरिकले आफूहरू पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
सुनसरी प्रहरीले हतियारसहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीको प्रक्रिया अगाडी बढाइएको बताएको छ ।