स्वागतम समाचारदाता
महेन्द्रनगर, पौष १७ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित विश्वकर्माचौकमा आज दिउँसो भारतीय कारले मोटरसाइलकलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजका ५० वर्षीय राजकुमार महतो रहेको प्रहरीले जनाएको छ । घाइते राजकुमार महतोको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । अहिले महतोको उपचार जनकपुरस्थित गोदावरी अस्पतालमा भईरहेको बताइएको छ ।
जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत नक्टाझिजको विश्वकर्माचौकमा जनकपुरबाट ढल्केवरतर्फ गईरहेको तिव्र गतिमा रहेको बी आर ०६ बी एल २३१५ नम्बरको भारतीय कारले बाटो क्रस गर्दै गर्दा महतो सवार ना.४१.प ७७७ नम्बरको मोटरसाइकलमा जेब्रा क्रसिंग नजिकै ठक्कर दिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
कारले ठक्कर दिएपछि मोटरसाइकल करिव १० फिट माथि उड्दा चालक महतो करिव १० मिटर अगाडी र मोटरसाइकल करिव २५ मिटर अगाडी गएर खसेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
महोत्तरीको भिठ्ठामोड नाकाबाट आएको सो भारतीय गाडी पिकनिक मनाउन पोखरिया जाँदै थियो । कारमा ४ जना सवार रहेको बताइएको छ । घटनापछि कार लिएर भाग्दै गर्दा स्थानीयहरुले मोटरसाइकल लिएर लखेट्दै घेरेका थिए । घेरेपछि कारमा रहेको २ जना ओर्लेर भाग्न सफल भएको र कार चालक र एक जनालाई स्थानीयहरुले नियन्त्रणमा लिएको थियो । अहिले दुवै जना ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।
सो कारमा सवार चारैजना महेन्द्रनगरमा खानासँगै रक्सी समेत खाएका थिए भने कारमा सवार पक्राउ परेका भारत सितामढी जिल्ला रधाउरमोर सुरगहिया १६ का संतोष कुमार सिंहले प्रहरीलाई बयान दिएको छ । कार चालक पनि सितामढी जिल्लाकै शंकर नामको व्यक्ति रहेको बताइएको छ ।
घाइते मोटरसाइकलमा सवार चालक राजकुमार महतो