स्वागतम समाचारदाता
जनकपुरधाम, पौष २४ ।
नेपालका एक मात्र रेलसेवा भारतको जयनगर देखि जनकपुरको कुर्थासम्म सञ्चालनको तयारीमा रहेको बेला रेल्वे पटरीमा लगाएको १४ हजार क्लिप चोरी भएको छ । रेल संचालनको तयारी गर्दै गर्दा रेल्वे लिकमा पटरी लक गर्न लगाइएको १४ हजार क्लिप र नट बोल्ट चोरी भएको छ । करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नटबोल्ट चोरी भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएका छन् ।
यसअघि पनि रेलमार्गमा प्रयोग भएको करिव १६ हजार क्लिप र नट बोल्ट चोरी भएको थियो ।
प्रहरी र रेलमार्गका कर्मचारीले आफूहरुको प्रयासले मात्रै रेलको सम्पत्ति संरक्षण हुन नसक्ने भन्दै चोरी भएको क्लिप पुनः भारतीय पक्षले लगाइदिनु पर्ने बताउँदै आएका छन् । यस विषयमा भारतीय निर्माण कम्पनीसँग कुरा पनि गरिएको महाप्रबन्धक झाले बताएका छन् ।
रेल संचालनको लागि जनकपुरदेखि जयनगरसम्म ३५ किलोमिटर लिक तथा भौतिक संरचना पूर्ण रुपमा तयारी अवस्थामा रहेको छ । रेल चलाउन दुई सेट रेल ईन्जिन र डब्बाहरु नेपाल सरकारले भारतसँग किनेर ल्याएको पनि करिव डेढ वर्ष पुग्न लागेको छ । रेल किनेको डेढ वर्ष पुग्न लाग्दा समेत रेल भने संचालन हुन सकेको छैन् । हाल सो रेल धनुषाको इनर्वा रेल्वे स्टेशनमा थन्काएर राखिएको छ ।
जनशक्ति र रेल कानुनको अभावमा रेल संचालन हुन नसकेर थन्काएको छ छ भने रेल्वे संरचनामा तोडफोड र चोरी निरन्तर हुने गरेको देखिएको छ । छ ।
यसैबीच शनिवार रेलको फेरी टेस्ट गरिएको छ । डेढ वर्षदेखि त्रिपाल ओढाएर राखिएको रेल जनकपुरसम्म चलाएर पुन परिक्षण गरिएको छ ।