विनोद महतो
महेन्द्रनगर, पौष २५ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरमा दुई वर्षअघि टिपरले किचेर हत्या गरिएका पर्यावरण तथा चुरे संरक्षणका अभियन्ता ओमप्रकाश महतो दिलिपको दोस्रो स्मृति दिवस मनाइएको छ । आइतबार धनुषाको ढल्केवरमा ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी पर्यावरण अभियन्ता स्वर्गीय दिलिपको दोस्रो स्मृति दिवस मनाएको हो ।
स्मृति दिवसका अवसरमा प्रदेश २ सरकारका उघोग, पर्यटन तथा वनमन्त्री शत्रुधन महताले स्वर्गीय दिलिपले पर्यावरण संरक्षणका क्षेत्रमा पुग्याएको योगदानको चर्चा गर्दै दिलिपले पर्यावरण संरक्षणकै अभियानमा ज्यान गुमाएकाले उनको सपना साकार पार्न सबैजनाले चुरेको संरक्षण र सम्बद्र्धनमा जुट्नुपर्ने बताएका छन् ।
मन्त्री महतोले चुरे संरक्षणमा स्थानीय नागरिकको सहभागिता र तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताए । सो वाटिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न ईनार सहितको डिपिआर तयारीको कार्य अगाडि बढाएको मन्त्री महतोले जानकारी समेत दिएका छन् । उनले क्रसर माफियाहरुलाई कानुन उल्लघंन गर्ने छुट नभएपनि केही नेता, प्रहरी प्रशासनको संरक्षणमा नै अवैध खोला दोहन गरिरहेको दावी समेत गरे ।
मन्त्री महतोले भने, ‘कानुनी राज्यमा अपराध गर्ने छुट कसैलाई छैन्, अपराध गरेर म बाँची हाल्छु भनेर नसोच्ने हुन्छ, भागेर कहाँ जान्छ ।’ उनले चुरे संरक्षणका अभियन्ताहरुलाई सक्रियाताका साथ अभियानमा लाग्न आग्रह समेत गरे । मन्त्री महतो कार्यक्रम भन्दा पहिलो स्वर्गीय दिलिपको नाउँमा औरही बाबा स्थान नजिकै रहेको ओमप्रकाश स्मृति वाटिकामा गएर वृक्षारोपण समेत गरेका थिए ।
प्रतिष्ठानकी अध्यक्ष सँगम कुमारी महतोको अध्यक्षतामा आयोजित दिलिपको दोस्रो स्मृति दिवसको अवसरमा प्रदेश २ वन निर्देशनालयका महासचिव सुरेश शर्मा, मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल, सव डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिल कुमार कर्ण, नेकपा माओवादीका नेता रामकुमार महतो, हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतो लगायतका वक्ताहरुले पर्यावरण बचाउन, अवैध खोला उत्खनन् बन्द गर्न र चुरे संरक्षणमा जोड दिएका थिए । सो कार्यक्रममा सहभागी सबैजनाले स्वर्गीय दिलिपको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई वन कार्याल धनुषाले कटर, तेजपात, अम्बा लागतको विरुवा समेत वितरण गरेको थियो ।
२०७६ पौष २५ गते विहानको समयमा औहरी खोलामा भईरहेको अवैध उत्खनन् रोक्न गएका मिथिला नगरपालिका वडा नं.–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलिप)को क्रसर संचालकले कुटपिट गर्दै टिपरले किचेर हत्या गरेका थिए । दिलिपको हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये मुख्य अभियुक्त चुरियामाई वालुवा प्रशोधन उद्योगका संचालक विपीन महतो सहित ३ जना पूर्वपक्षका लागि सिन्धुली कारागारमा थुनामा छन् भने तीनजना धरौटीमा रिहा भइसकेका छन् ।
२०७६ माघ ३० गते धनुषा जिल्ला अदालतको आदेशमा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो हाल पूर्वपक्षका लागि थुनामा छन् । दिलीपसँगै खोलामा गएका छिमेकी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार धरौटी लिएर त्यतिबेलै साधारण तारेखमा रिहा गरिएको थियो ।
यता घटनाको दुई वर्ष बित्दा समेत राष्ट्रिय मानव अधिकार आयोगले हालसम्म प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन् । आयोगले अनुसन्धान भएपनि प्रतिवेदन आन्तरिक राखिएको बताउँदै प्रहरीको अनुसन्धानकै भर परेको जनाएको छ ।