दिवेश कुमार महतो
जनकपुरधाम, पौष २७ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती पौष २७ गते मंगलबार देशभरि मनाइएको छ । शाहको जन्म जयन्तीको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी प्रदेश नं २ को राजधानी जनकपुरधाममा पनि जन्मजयन्ती मनाइएको छ । धनुषाको जनकपुरधाम, ढल्केवर, महेन्द्रनगर लगायतको ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ ।
राष्ट्रवादी, सनातनवादी र युवाहरुको सहकार्यमा नेपाल एकिकरण अभियानका महान नायक पृथ्वीनारायण शाहको ३००आंै जन्म जयन्ती भव्यताका साथ सम्पन्न मनाइउको देखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम नगर कमिटीको अध्यक्ष सोमेन्द्र ठाकुरको अध्यक्षतामा मनाइएको सो कार्यक्रममा रथ यात्रा समेत निकालिएको थियो । रथमाथि पृथ्वीनारायण शाहको फोटो राखेर नगर परिक्रमा गरेको थियो । बाजागाजा सहित नगर यात्रा गर्दै जनकपुरको मुख्य मठमन्दिरको दर्शन गर्दै र्याली निकालिएको थियो ।
सो अवसरमा जिल्ला अध्यक्ष रामचन्द्र यादव, जिल्ला सदस्य मुन्नु झा, नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह, नगर सचिव नविन झा, सुदिप झा, प्रेम झा, सुरज राउत लगायत राप्रपाका केन्द्रिय सदस्यहरुको उपस्थितिमा विविधताका साथ जन्मजयन्ती मनाइएको छ ।
यसका साथै कोभिड १९ र ओमिक्रोम संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरुमा मास्क वितरण समेत गरिएको राप्रपाका नगर सचिव नविन झाले बताएका छन् । यस्तै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा समेत नेपाल राष्ट्रवादी नागरिक समाजले ३००औं पृथ्वी जयन्ती तथा एकता दिवस अन्तरक्रिया गरी मनाएको छ ।
वि.सं. १७७९ पौष २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका थिए । पृथ्वीनारायणको निधनपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी पृथ्वी जन्मजयन्ती मनाइएको छ ।