स्वागतम समाचारदाता
जनकपुरधाम, पौष २७ ।
प्रदेश २ को नाम र स्थायी राजधानीका लागि पुनः मतदान हुने भएको छ । प्रदेशसभामा पेश भएको प्रस्तावहरुमध्ये कुनैमा पनि सहमती नभएपछि अब मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको. छ । प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।
सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो । मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत हुन सक्ने अवस्था भने कायमै छ ।
नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत हुनु आवश्यक छ । जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ जना छन् । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक देखिएको छ । यस्तै अन्य प्रस्तावहरू जानकी प्रदेशको पक्षमा एमाले र नेकपा (एकीकृत समाजवादी) का २१ जना छन् भने १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् । यता कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेस प्रदेशको पक्षमा देखिएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामै मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति गरेको बताए । यसअघि पनि मतदान प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाउने प्रयास गरेपनि सफल हुन सकेको थिएन । अब फेरी मतदान प्रक्रियामा जाने भएपछि प्रदेशको नाम र राजाधानीको नाम टुंगो लाग्ने वा नलाग्ने अन्यौलता भने कायमै छ ।