विनोद महतो
धनुषा, माघ २ ।
मिथिलाकै प्रसिद्ध तथा ऐतिहासिक मकर मेला माघ २ गते आइतबारदेखि सुरु भएको छ । जनकपुरबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने मिथिलाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा अवस्थित धनुष मन्दिरमा मकर मेला भर्न आउने दर्शनार्थीहरुको भीड बढ्न थालेको छ । धनुष मन्दिरमा रहेको पताल गंगाको दर्शन, पूजापाठ गर्न नेपाल भारत लगायत विभिन्न ठाउँका भक्तजन र दर्शनार्थीहरुको भीड माघ महिनाको प्रत्येक आइतवारका दिन मकर मेला (धनुषा मेला) मा लाग्ने गर्छन् । मेला माघ महिनाभरि प्रत्येक आइतवारको दिन लाग्ने गर्छ ।
धनुषाधामको प्रसिद्ध धनुष मन्दिरमा प्रत्येक वर्ष माघ मकर संक्रान्ति पछि हरेक आईतवार भव्य मेला लाग्ने गर्दछ । जहाँ पताल गंगा पनि रहेको छ । जसबाट प्राकृतिक रुपमै जमिनमुनीबाट पानी आउने गर्दछ र त्यो आउने क्रम घटियो भने विनाश हुने संकेत गर्ने गरेको धार्मिक विश्वास रहिआएको छ ।
मकर मेलामा हजारौ हजार दर्शनार्थीहरुको पूजाअर्चना गर्न घुईचो लाग्ने गर्छन् । भाकल गरेर मनोकामना पूरा भएपछि भाकल अनुसार सामग्री चढाउन र पूजापाठ गर्न नेपाल भारतका विभिन्न स्थान र जिल्लाबाट भक्तजनहरु आउने गर्छन् । धनुष मन्दिरमा तन मन धनले पूजा गर्नुका साथै भण्टाको भारिया (बैगनको पाहुर) चढाए चर्म रोग, मूसा रोग लगायत दुःख, कष्ट नष्ट हुने गरेको जनविश्वास छ ।
त्रेता युगमा राजा जनकको छोरी सीताको स्वयम्वर कार्यक्रममा भगवान श्रीरामले धनुषलाई भाँच्ने क्रममा धनुष तीन टुक्रा भएको र त्यस मध्ये एक टुक्रा धनुषाधाममा झरेको कुरा विभिन्न धार्र्मिक ग्रन्थमा उल्लेख छ । धनुषको टुक्रा झरेको स्थानमा धनुष आकार झै प्रत्येक वर्ष बढ्दै गरेकाले पनि श्रद्धालुहरुको आस्था बढेको मन्दिरका पूजारी बताउँछन् । मकर मेला तेजपात र विभिन्न फलामे औजारहरुका लागि पनि प्रसिद्ध मेला हो ।
धनुष टुक्राको प्रसंग
त्रेता युगमा मिथिलाका राजा जनकलाई पर्शुरामले उपहार स्वरुप प्रदान गरेको शिव धनुष राजा जनकले जानकीको विवाहको लागि धनुषलाई भंग गर्न चुनौतीको रुपमा राखिएको थियो । अलौकिक र अवर्नीय रुप भएकी सीतालाई पाउन ललायित भएका वीर रावण जस्ता महान योद्धाहरु चुनौती स्वीकार गरि भाग लिएका थिए । उक्त चुनौती स्वीकार गर्दै अयोध्याका राजा दशरथका जेष्ठ सुपुत्र तथा स्वयम् भगवान श्री राम समेत आउनु भएको थियो । जानकीले उक्त धनुषलाई सँधै उठाई लिपपोत गर्ने कार्य गर्नु हुन्थ्यो तर वीर रावण जस्ता कैयौ योद्धाहरु धनुषलाई अलिक पनि टकस मकस गर्न सकेनन् र अन्ततः भगवान श्रीरामले धनुष स्पर्श गर्दा नै टुक्रा–टुक्रा भई विभिन्न स्थानहरुमा गएर झरेको कुरा रामायणमा उल्लेख भएको पाईन्छ । त्यस मध्येको एक टुक्रा धनुष हालको धनुषाधाममा झरेकोले त्यसै नाम बाट धनुषाधाम नामाकरण गरिएको किमबदन्ती छ ।
यस स्थानमा झरेको धनुषका टुक्राको अवशेषहरु ढुंगाको रुपमा रहेको धार्मिक विश्वास रहि आएको छ । जुन ढुंगा तीन चार वर्षको अन्तरमा बढ्दै गईरहेको समेत पुष्टि भई सकेको छ । रामायणकालको सुरक्षित र जिवित अवशेषको रुपमा यसलाई सबैले मान्ने गर्दछन् । यो स्थानमा एक ठूलो पिपलको रुख छ । रुखको वरिपरि ढुंगाको रुपमा अवशेषहरु छन् । त्यसैले उक्त ठाउँमा दिनहुँ सयौंको संख्यामा भक्तजनहरु दर्शन र पूजाआजा गर्न जाने गर्दछन् । यहाँ आफुले चिताएको वर मागेमा पुरा हुने जनमानसमा विश्वास रहेको छ । यहाँ नेपाल र भारत तथा अन्य देशका पर्यटकहरु पनि आउँने गर्दछन् ।
एक शक्तिशाली स्थानको रुपमा यसलाई पनि मान्ने गरिन्छ । यहाँ केही धार्मिक अवशेषहरु संरक्षित प्रमाणित रहेकोले धार्मिक ईतिहासमा यसको वेग्लै गौरव र गरिमा रहेको छ । यस धनुष अवशेषको दर्शनले रामेश्वरधाम दर्शनको फल प्राप्त हुने जनविश्वास छ । स्थनीयका अनुसार यस स्थलमा भक्तजनले आफुले चिताएको मनोकामना पूर्ण हुँदा लड्डु मिठाई, विभिन्न फलफुल तथा बैगनको पाहुर चढाउने गर्छन् । १५ दिने माध्यमिकी रामजानकी र किशोरी जी को डोला सहितको हजारौको संख्यामा सहभागि परिक्रमा नवमीका दिन यस स्थलमा विश्राम गर्छन् ।
मन्दिरको ईतिहास
अहिले धनुष मन्दिर स्थलमा चारै तिरबाट ईट्टाको बाल दिएर घेरिएको छ र मन्दिरको दक्षिण तर्फबाट प्रवेश द्धार निर्माण गरिएको छ ।
अहिलेको मन्दिर भएको ठाउँमा यस भन्दा झण्डै आठ दशक अघि भारत बलियाका रघुनाथ राम जयसवालले वि.सं. १९९५ मा धनुष मन्दिरको निर्माण कार्य गरेको कुराहरु विभिन्न धार्मिक पुस्तकहरुमा उल्लेख भएको पाईन्छ । यस्तै मन्दिरको पूर्व तिर केही दुरीको फरकमा एक धर्मशाला छ । जुन धर्मशाला ई.स.१९४० मा दरभंगाका राजा लक्ष्मेश्वर सिंहको आमा महेश्वरलता देवीले बनाउनु भएको थियो । जसको पूर्ण निर्माण कार्य सन् १९९१ मा पट्ना कदम कुवाका निवासी ताराचन्द्र अग्रवालद्धारा भएको थियो । जुन धर्मशालामा हाल धनुषाधाम नगरपालिकाको कार्यालय रहेको छ । धनुषाधाम क्षेत्र भित्र विभिन्न ६ ओटा कुट्टी र मन्दिरहरु रहेको छ । रामजानकी, शिवा, बिचला, रामधुन, खाकचौक र पञ्चमुखी हनुमानजी को मन्दिर छ ।
धनुषाधामको धनुष मन्दिर व्यवस्थित तथा गेट निर्माण कार्यले त्यहाँको सौन्र्दयतामा सुगन्ध छरिएको भान हुन्छ । जसले गर्दा पहिलेको भन्दा अबको दिनमा दर्शनार्थी र पर्यटकहरुमा आवागमनमा भारी वृद्धि हुने स्थानीयबासिन्दाहरुको विश्वास रहेको छ । भौगिलक ऐतिहासिक र धार्मिक दुष्टिकोणले हेर्दा धनुषाधाम ठूलो पर्यटकीय क्षेत्रको सम्भावना भएको स्थानीयहरुको भनाई छ ।