स्वागतम समाचारदाता
जनकपुरधाम, माघ २ ।
प्रदेश २ को नाम र स्थायी राजधानीको लागि भएको सहमतिको प्रयास असफल भएपछि अब मतदान हुने भएको छ । नाम र स्थायी राजधानीको विषयमा टुंगो लगाउन प्रदेशका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिको सहमतिको प्रयास विफल भएको छ । नाम र राजधानी सम्बन्धी केही प्रस्तावहरू परिमार्जन गरेर केही संख्या घटाएपनि अन्तिम नाम र राजाधीको विषयमा भने समिति विफल भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिले प्रतिवेदन सार्वजनिक गर्दै अब गोप्य मतदानमा जानुपर्ने जनाएको छ । त्यसको लागि प्रदेशसभाले सहितका ६ वटा निष्कर्ष निकालेको जनाएको छ ।
बैठकमा विशेष समितिको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका प्रमेश्वर साहले प्रतिवेदन पढेर सुनाएका थिए । प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई घटाएर ४ वटा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा झारेको बताए छ ।
तर सहमति हुन नसकेकाले अब प्रदेशको नाम र स्थायी राजधानीका लागि मतदान हुने तय भएको उनले बताए । अब गोप्य मतदान प्रक्रियामा जानुपर्ने, मतदानको लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति श्रोत साधन, मतदान सामग्रीहरु तथा सुरक्षा प्रबन्ध लगायतका व्यवस्थापन गर्नु पर्ने, मतदान प्रक्रिया सभाकक्षसँगै रहेको कक्षमा सम्पन्न गर्ने समितिले निष्कर्ष निकालेको हो ।
प्रदेशको नामको प्रस्तावहरुमा ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ गरिएको छ भने राजधानीको लागि जनकपुरधाम र वीरगञ्जको दुई वटा प्रस्ताव पेश भएको छ । जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्ताव सबै दलका साझा प्रस्ताव रहेको छ भने केही दलका नेताको दोस्रो राजधानीको प्रस्तावमा ‘वीरगञ्ज’ रहेको छ ।
यसअघि पनि प्रदेशको नामाकरण र स्थायी राजधानीलको लागि मतदान भएको थियो । तर दुई तिहाई नपुग्दा असफल भएको थियो । अब फेरी मतदान प्रक्रियाबाटै नाम र राजधानीको टुंगो लगाउने भनिएपछि सफल हुने वा नहुने ठोकुवा भन्न सक्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् ।