स्वागतम समाचारदाता
महेन्द्रनगर, माघ ५ ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिकमा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ । बटेश्वर गाउँपालिकास्थित बटेश्वर बजारमा रहेको प्रहरी चौकीका असई मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको छ ।
बटेश्वर गाउँपालिका वडा नं. ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि असई पोखरेलमाथि लुटेरा समूहले आक्रमण गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।
लुटेराको आक्रमणबाट असई पोखरेलको टाउको फुटेको छ । घाइते पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको र टाउकोमा १२ वटा टाँका लागेको प्रहरी उपरिक्षक रजौरे बताउनुभयो ।
महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नं. ७ घर भएका अमित पासमान छिमेकी मुलुक भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनलाई लुटेको थियो । लुटेराले पासवानसँग भएका पैसा, लत्ताकपडा, मोबाइल लगायत सामान लुटपाट गरेका थिए ।
लुटपाटको भईरहेको खबर पाए लगतै त्यहाँ पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेपछि असई पोखरेलमाथि आक्रमण भएको थियो । प्रहरीका अनुसार लुटिएका पासमान कमाएर बटेश्वर गाउँपालिका वडा नं.२ भुचक्रपुरस्थित आफ्नो ससुरालीमा अटोमा चढेर जाँदै थिए ।
महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान ससुराली जाँदै गर्दा राम्रोचोकमा रोकेर सामान लुटपाट गर्दै गर्दा प्रहरीले खबर पाएको थियो । प्रहरीले लुटपाट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर लैजाने क्रममा लुटेरा समूहले घेरा हाली असई पोखरेलमाथि पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा प्रहरी गरेको प्रहरीले जनाएको छ ।
यता लुटपाट तथा आक्रमणमा संलग्न ५ जनालाई प्रहरीले भने नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक रजौरे जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएकामध्ये मुख्य आरोपित स्थानीय रामजीवन ठाकुरको साथमा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट र एकथान चक्कु बरामद फेला परेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पछिल्लो समय लागुऔषध कारोवारी र सेवनकर्ताहरु लुटपाट पनि गर्न थालेको स्थानीयहरुको भनाई छ ।