स्वागतम समाचारदाता
महेन्द्रनगर, माघ ७ ।
धनुषाको मिथिला नगरपालिकाले चालु आर्थिक वर्षमा पालिकाभरिमा कृषि तथा खानेपानीका लागि ४० वटा ईनार खन्दै छ । यस चालु आर्थिक वर्षमा मिथिला नगरपालिकाले नगर स्तरको बजेटबाट ४० वटा ईनार खनाउन लागेको जनाएको छ । खानेपानीको समस्या भएको वडाहरुमा प्रति ईनारको लागि २ लाख ५० हजारको दरले बजेट छुट्याइएको नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेत लामाले जानकारी दिएकी छिन् । नगरभरिमा यस आर्थिक वर्षका लागि ४० वटा ईनारका लागि बजेट छुट्याइएको र माग भई आएको वडा तथा व्यक्तिको घर अगाडी ईनार खन्ने कार्य भईरहेको उनले बताईन् ।
सोहि क्रममा शुक्रवार पनि मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीनिवास टोलमा राम विलास महतोको दरवाजामा ईनार खन्नका लागि शुरुवात गरिएको छ । उपमेयर बस्नेतले सो ईनारको खनेर शिलान्यास गरेकी छिन् । नगरपालिकाले मात्रै यस वर्ष ४० वटा ईनारको लागि एक करोड बजेट राखेको छ ।
यस्तै वडाहरुले पनि आफ्नो वडास्तरीय बजेट वडापिच्छै ५ देखि १० वटासम्म ईनारको लागि बजेट छुट्याएको र खनाउँदै आएको छ । अहिले ईनार खनाउँदा एउटा ईनारको लागि करिव ३ लाख पर्ने गरेको स्थानीयहरुको भनाई छ ।
नगरपालिका र वडाले प्रत्येक वर्ष खानेपानीका लागि ईनारलाई प्राथमिकता दिँदै बजेट छुट्याउँदै आएको र ईनार खन्दै जाँदा केही वडामा घरपिच्छै ईनारै ईनार भएको स्थानीयहरुले बताएका छन् । केही ईनार सिंचाईका लागि समेत प्रयोग हुँदै आएको छ ।