स्वागतम समाचारदाता
जनकपुरधाम, माघ १७ ।
पत्रकार तथा मैथिली भाषाका साहित्यकार सुजीत कुमार झाको अनुसन्धान एवं विश्लेषण मुलक पुस्तक ‘पुनि पुनि होत विवाह’ को सोमवार जनकपुरमा एक समरोहकाबीच लोकार्पण गरिएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षता तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोद्धयको प्रमुख आतिथ्यमा ‘पुनि पुनि होत विवाह’ पुस्तकको लोकार्पण गरिएको छ ।
पत्रकार एवं साहित्यकार सुजीत कुमार झाको १०औं कृतिको रुपमा प्रकाशित ‘पुनि पुनि होत विवाह’ पुस्तकमा सीताराम विवाह उत्सव सम्बन्धी विभिन्न ४९ वटा शिर्षकमा अनुसन्धान एवं विश्लेषण गरिएको छ । ६ सय ८८ पृष्टमा समेटिएको ‘पुनि पुनि होत विवाह’ पुस्तकमा सीताराम विवाह उत्सव र रामायणकालिन विभिन्न विषयहरुको अलग अलग विभिन्न शिर्षकमा अनुसन्धान र विश्लेषण गरिएको लेखक झाले बताएका छन् ।
सो पुस्तकको लोकार्पण समारोहमा मैथिलीको विद्धान तथा समालोचक रामचन्द्र झा ‘रमण’ ले टिप्पणी गरेका छन् । पुस्तक लोकार्पण समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, उद्योग, पर्यटन तथा वन मन्त्रालयकी सचिव विन्दु कुमारी मिश्र, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, साहित्यकार अयोध्यानाथ चौधरी, गीतकार तथा पत्रकार अशोक दत्त, पर्यावरण अभियन्ता सुरेश शर्मा लगायतको वक्ताहरुले सो पुस्तकप्रति आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उद्योग, पर्यटन तथा वन मनत्रालयले प्रकाशन गरेको सो पुस्तकको आवरण फोटो विजय दत्त ‘मणि’ को रहेको छ ।