एजेन्सी
महेन्द्रनगर, माघ २३ ।
भारतकी प्रसिद्ध गायिक तथा स्वर कोकिला लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान सरस्वती पूजाकै दिन मल्टी अर्गान फेलरका कारण स्वर कोकिला मंगेशकरको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उनको निधन भएको हो ।
मंगेशकरको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रीय मन्त्रीहरुले दुःख व्यक्त गरेका छन् । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको जनाएको छ । उनको निधनप्रति भारतीय फिल्मी जगतको कलाकारहरु शोक व्यक्त गरेका छन् ।
स्वरमा सात्क्षात देवी सरस्वतीको बास रहेकी स्वर कोकिला लता मंगेशकरले ११ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ५० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपाली लगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।
उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।