स्वागतम समाचारदाता
जनकपुरधाम, माघ २७ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरधामबाट ७ महिनाको बच्चा चोरी गर्ने तीनजनालाई पक्राउ गरी प्रहरी सार्वजनिक गरेको छ । पक्राउ परेका तीनै जनालाई विहिवार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा दुईजना महिला र एकजना पुरुष रहेका छन् ।
प्रहरीले बच्चा चोरी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.–१० का संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनिषा देवी मुखिया, औरही गाउँपालिका वडा नं.–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं.–८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं.–४ घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं.–७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बच्चा चोरीको कारण भने छोराको मोह देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.६ स्थित महाराज सागर पोखरी छेउबाट बुधबार साँझ करिव ६ बजे मोहम्द अमिर राईनका ७ महिने शिशु अख्तर राईनलाई मनिषाले लिएर भागेकी थिइन् । मोहमद आमिर राईनकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको समय रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई बच्चालाई लिएर भागेकी थिइन् ।
प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको प्रहरी टोलीले बच्चालाई खोजतलास गर्ने क्रममा विहिबार बिहान साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नं. –१९ बेंगा शिवपुर पिपराढी स्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा तीनैजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् ।
घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए । प्रहरी उपरीक्षक रजौरेले मनिषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिएर बच्चा उपलब्ध गराउने सर्तमा वाचा गरेको र रामले बच्चा चोरीमा सघाएकी छन् । पक्राउ परेकाहरुमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।