स्वागतम समाचारदाता
जनकपुरधाम, फाल्गुन ३ ।
मधेश प्रदेश सरकारले आफ्नो चार वर्षे उपलब्धी सार्वजनिक गरेको छ । प्रदेश सरकार स्थापना भएको चार वर्ष पुरा गरेको अवसरमा मंगलबार मधेश भवनमा पत्रकार सम्मेलन गर्दै मधेश सरकारले उपलब्धि सार्वजनिक गरेको छ । २०७४ फाल्गुन ३ गते प्रदेश सरकार गठन भएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनजकपुरधामले मधेश भवनमा आयोजना मधेश प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणदेखि सडक निर्माणका लागि बोलपत्र सूचना प्रकाशनसम्मको कुरालाई सरकारले आफ्नो ठूलो उपलब्धी रुपमा लिएको बताउनुभयो । समारोहलाई सम्बोधनको क्रममा आफ्नो चार वर्षे प्रमुख उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेशको नामकारण र स्थायी राजधानी जनकपुरधाम कायम हुनु नै अहिलेसम्म प्रदेशको ठूलो उपलब्धी रहेको बताउनुभयो । उहाँले अब चाँडै नै मधेश प्रदेशको कामकाजी भाषा टुंगो लगाउने, मधेश प्रदेश सरकारद्वारा स्थापित निकायहरुमा जनशक्ति र स्रोत साधनको व्यवस्थापन गरी कार्य अगाडी बढाउने जानकारी दिनुभयो । स्थापनाकालदेखि हालसम्म मधेश प्रदेश सरकार तीन पटक पुर्नगठन भईसकेको छ ।
मुख्यमन्त्रीले सार्वजनिक गरेको पुस्तिकामा ४४ वटा ऐन, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण, मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ योजना, कोरोना रोकथाम तथा नियन्त्रण, जनस्वास्थ्य प्रयोगशाला स्थापना र नाम र राजधानीको टुंगो लगायतको उपलब्धी रहेको बताउनुभयो ।
चार वर्षमा प्राप्त राजनैतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु बेटी पढाउ बेटी बचाउ अभियान, शहिदको सम्मान, किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान, ६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे, तीन वटा विश्वविद्यालयको स्थापना लगायतका कार्यलाई उपलब्धीमा राखिएको छ । यस्तै आठ वटै जिल्लाका विभिन्न स्थानहरुमा ६० वटा बर्थिङ्ग सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ बालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ वृद्धाश्रम भवनको मर्मत सम्भार तथा स्तरोन्नति, ६४ वटै निर्वाचन क्षेत्रमा ५ किमि सडक कालोपत्रे गर्नका लागि बोलपत्र सूचना प्रकाशन गरेकोलाई समेत प्रदेश सरकारको उपलब्धी पुस्तिकामा उल्लेख छ । चार वर्षमा करिब २२५ किमि माटो सडक, ९३७ किमि ग्राभेल सडक, २२४ किमि कालोपत्रे सडक र २३७ किमि ढलान सडक निर्माण, २९२ कल्भर्ट र ३२ पुल निर्माण सम्पन्न गरेको, करिब ३५ किमि नाला निर्माण र ३ झोलुङ्गे पुल, सिंचाईतर्फ ३४ हेडबक्स निर्माण, १७४ किमि कच्ची नहर निर्माण, २९ किमि पक्की नहर निर्माण र ७८ किमि तटबन्ध निर्माण गरेको, ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण, ५३ किमि बस्ती संरक्षण र २६ किमि घाट निर्माण गरेको जनाएको छ । त्यस्तै, ९ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवन, २३ वटा धर्मशाला र जनता आवास कार्यक्रम अन्तर्गत ९ हजार ४५ वटा घर बनाएको प्रदेश सरकारले जनाएको छ ।
समारोहमा मधेश सरकारका मन्त्री र मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।