स्वागतम समाचारदाता
ढल्केवर, फाल्गुन १० ।
होटल र गेष्ट हाउसको नाममा धनुषाको ढल्केवरमा यौन धन्दा बढ्दै गएको व्यापक गुनासोपछि प्रहरीले एक गेष्ट हाउसमा मंगलबार छापा मारेको छ । मिथिला नगरपालिका ६ ढल्केवरस्थित पश्चिम चौकमा रहेको मनकामना गेष्ट हाउसबाट प्रहरीले छापामारी गर्दै एक युगल जोडीलाई पक्राउ गरेको जनाएको छ ।
स्थानीयहरुको व्यापक जनगुनासो बढेपछि चेकजाँच गर्ने क्रममा सो गेष्ट हाउसबाट छापामारी गर्दा करिव १८–१९ वर्ष समूहका एक युगल जोडीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिएका छन् ।
प्रहरी निरिक्षक सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरु दुवैजना प्रेमी–प्रेमिका रहेको खुलेको छ । ‘दुवैजना प्रहरी नियन्त्रणमा रहेको छ र उनीहरुसँग बयान लिएर अनुसन्धान अगाडी बढाएको छ । उनीहरुको परिवारलाई सम्पर्कमा ल्याउने प्रयास समेत भईरहेको छ । अनुसन्धानको निश्कर्ष अनुसार हामी अघि बढ्छौं,’ प्रहरी निरीक्षक सुवेदीले भने ।
यता मनकामना गेष्ट हाउसका सञ्चालक सन्तोष दासलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताएका छन् । व्यवसायिक रुपले अबैध यौन धन्दा चलाइरहेको ठहरिएमा गेष्ट हाउस संचालक माथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक सुवेदीको भनाइ छ ।
ढल्केवरका केही होटल सञ्चालकहरुले गेष्ट हाउसको नाममा वेश्यावृत्ति चलाईरहेका स्थानीयहरुको आरोप छ । यस सम्बन्धमा पटक पटक प्रहरीलाई गुनासो गर्दा पनि एक दुई दिन एक्शन लिएर कडाई गरेपनि संचालकसँग पैसाको वार्गेनिंग र महिनवारीको सेटिंग भएपछि छोड्ने गरेको स्थानीयहरुको दावी छ ।
तर फेरी गेष्ट हाउसको नाउँमा दिनदहाडै अवैध यौन धन्दा चलिरहेको भन्ने स्थानीयको व्यापक जनगुनासो बढेपछि प्रहरीले सक्रियता र निगरानी बढाएको छ ।
पटक पटक ढल्केवरको गेष्ट हाउस र होटलहरुमा अवैध यौनधन्दा भईरहेको समाचारहरु विभिन्न मिडिया र समाजिक संजालहरुमा आउने गरेको छ । तर प्रहरी र स्थानीयहरुले यसलाई रोक्ने तर्फ चासो नलिँदा यौनधन्दा फष्टाउँदै कतिपयको तर्क छ ।
यौनधन्दा फष्टाउनकै लागि गेष्ट हाउस संचालकहरुले नाबालिग किशोरीलाई समेत विभिन्न प्रलोभन देखाएर सम्पर्कमा राखि प्रयोग गर्दै आएका स्रोतको दावी छ ।