स्वागतम समाचारदाता
जनकपुरधाम, फाल्गुन १० ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा जिल्ला प्रशासन कार्यालय अगाडी उभेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध नाराबाजी गर्दै विरोध प्रर्दशन गर्दै रैली समेत निकालेका छन् ।
किसानहरुको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिव अढाई महिनादेखि जनमत पार्टीका कार्यकर्ताहरुले आन्दोलन गर्दै आएका छन् ।
बीचमा केही दिन आन्दोलनको कार्यक्रम समान्य पारेपनि फेरी मंगलवारदेखि जनमतका कार्यकर्ताहरुले आन्दोलनलाई तिव्रता दिएका छन् । सोहि क्रममा सरकार विरुद्ध प्रदैशन गदै जनमतका नेता कार्यकर्ताहरुले जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए ।
उनीहरुले जिल्ला निर्वाचन कार्यालय समेत घेराउ गरेका छन् । तिनीहरुले निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका हुन् । किसानका माग पूरा नभए निर्वाचनमा समेत अवरोध गर्ने जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले चेतावनी दिएका छन् ।