स्वागतम समाचारदाता
काठमाडौ, फाल्गुन १५ ।
लामो रस्साकसी र पक्ष विपक्षकाबीच अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दै पारित गरेको हो ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधन विना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरिरहेको समयमा ध्वनि मतबाट एमसीसी अनुमोदन भएको हो । एमसीसी अनुमोदन गरेर प्रतिनिधि सभा बैठक अब फाल्गुन १८ गतेसम्मको लागि स्थगित भएको छ ।
एमसीसी पारित गर्न प्रतिनिधि सभाको बैठक चलि रहँदा काठमाडौमा व्यापक विरोध भईरहेको थियो । कडा सुरक्षा घेरकाबीच संसद भवनमा एमसीसी पारित भएको हो ।