स्वागतम समाचारदाता
महेन्द्रनगर, फाल्गुन १८ ।
धनुषाको महेन्द्रनगरमा फलफुलको पसलमा लागुऔषध गाँजा बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का १९ वर्षीय अरुण कुमार साहलाई बुधवार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले साहलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् । क्षीरेश्वरनाथ नगरपालिका–५ पेपर मिल रोडको दुधमती चौक स्थित रवि साह र उनका छोराले सञ्चालन गरेको फलफुल पसलबाट साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फलफुलको पसलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले खानतलासी गर्दा डिस्पोजल झोला भित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको पुरीया १३ थान बरामद गरिएको हो । बरामद गरिएको गाँजा ९० ग्राम रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।