स्वागतम समाचारदाता
महेन्द्रनगर, फाल्गुन १८ ।
प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा विहिवारदेखि शुरू हुँदै छ । फाल्गुन औंसीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक तथा ऐतिहासिक ठाउँहरूको १२० किलोमिटर यात्रा हुँदै आएको छ ।
मिथिला माध्यमिकी परिक्रमको पहिलो दिन विहिवार धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट झाँकीकीर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर पु¥याउने गरिन्छ । जानकीको डोलासँगै जनकपुरका विभिन्न मठमन्दिरबाट ल्याइएका डोलाहरू समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।
बृहत, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ । डोलामा पछिपछि परम्परागत बाजागाजा, झाँकीकीर्तनसहितका मौलिक पहिरनमा लाखौंको सहभागिता रहने गर्छ । १५ दिने परिक्रमाअन्तर्गत जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर महादेव, फुलहरमा रहेको गिरिजा स्थान, करुण, विसौल, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको क्षीरेश्वरनाथ हुँदै पर्वता, धनुषाधाम, सतोखर, औरही र यात्राको अन्तिम दिन अर्थात् १५औं दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुन्छ ।
रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । यस परिक्रमामा नेपालको धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही र सीमावर्ती भारतीय राज्य विहारको सीतामढी, मधुबनी, दरभंगा सहितका जिल्लाबाट लाखौं श्रद्धालुभक्तजन र साधुसन्तहरूको सहभागिता रहने गर्छन् ।