जनकपुरधाम, फागुन १८ ।
धनुषामा प्रहरी निरीक्षक (इन्सपेक्टर) ले महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको खुलेको छ । जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन भईरहेको बताइएको छ ।
सार्वजनिक स्थलमै इन्सपेक्टर यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।
जानकी मेडिकलमा सञ्चालन भईरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।
ड्युटीको क्रममा इन्सपेक्टर यादवले पटक पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।
तर प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भईरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताएका छन् । उनले घटनाको छानबिन पश्चात मात्र सत्य तथ्य भन्न सकिने बताए । साभार : कान्तिपुर