स्वागतम समाचारदाता
बर्दिवास, फाल्गुन १९ ।
मधेस प्रदेशको मिडियो काउन्सिलले “सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण” का लागि सुझाव संकलन कार्यशाला गोष्ठी गरेको छ । मधेश प्रदेशको मिडिया काउन्सिलले महोत्तरी जिल्लाको बर्दिबासमा विहिवार “सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण” को लागि आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका पत्रकारहरुसँग सुझाव लिएको छ ।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको अध्यक्षता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री साहले पत्रकार आचार संहिताको पालना गर्दै देश र जनताको पक्षमा कलम चलाउने पत्रकारहरूलाई सम्मान सहित पुरस्कृत तयारी प्रदेश सरकार गरिरहेको बताउनुभयो । मन्त्री साहले प्रदेश भरिका पत्रकारहरूका लागि कल्याण कोष तथा पेन्सन वृत्ति लागु गर्नका लागि मिडिया काउन्सिललाई मन्त्रालयको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
सो कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, धनुषाका उपाध्यक्ष अवधेश कामत, सर्लाहीका सचिव लगायतले आचार संहितको पालनाले मर्यादित पत्रकारिताको विकासमा टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंसँग आबद्ध रहेको धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका पत्रकारहरूको सहभागीता रहेको थियो ।