काठमाडौ, फाल्गुन २० ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । पेट्रोलियम पदार्थको भाउ निरन्तर बढ्दै गएको छ । तर सरकारले इन्धनमा लगाएको कर घटाएर उपभोक्तालाई राहत दिन चासो देखाएको छैन् । आईओसीबाट ९३ रुपैयाँ ७८ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा कर लाग्दै आएको छ । त्यस्तै ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६ सय ४१ रुपैयाँ २३ पैसामा किनेको ग्यासमा दुई सय ८० रुपैयाँ ३० पैसा कर लाग्दै आएको छ ।
करसहित निगमको ढुवानी खर्च र मुनाफा जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगमले इन्धनमा अझै पनि घाटा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर झन्डै २० रुपैयाँ नाफा छ ।
यसैबीच पेट्रोलियम पदार्थको मूल्य बढे पनि आउँदो १५ दिनमा झन्डै दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।
नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोसाक खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले कर्मचारीको पोसाक संरक्षण भत्ता कटौती गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोसाक संरक्षण भत्ता पाउने छैनन् । पोसाक संरक्षण खर्च कटौती भएपछि वार्षिक झन्डै ५० लाख रुपैयाँ खर्च घट्ने निगमले जनाएको छ ।