स्वागतम खबर
ढल्केवर, फागुन २३ ।
धनुषाको ढल्केवरमा नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शन गरिरहेका बेला पक्राउ परेका तीन जना युवा रिहा भएका छन् । सोमबार धनुषाको ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा नागरिकता विहिन संघर्ष समितिको पूर्व निर्धारित दवावमूलक आन्दोलन कार्यक्रम अन्तर्गत नागरिकता विधेयक छिटो पारित गर्न माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरी टोलीले नागरिकता विहिन संर्घष समिति नेपालका केन्द्रीय संयोजक ईन्द्रजित साफी सहित तीन युवालाई पक्राउ थियो । नागरिकता विहिन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोले दिएको जानकारी अनुसार केन्द्रीय संयोजक साफी, रविन्द्र कुशवाहा र अशोक साहलाई प्रहरीले पक्राउ गरेको र केही घण्टापछि छोडेको छ ।
यता ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले विरोध प्रदर्शनको नाउँमा चक्का जाम गर्ने प्रयास गरेपछि तीन जनालाई नियन्त्रणमा लिएको र केही घण्टापछि छोडिएको बताएका छन् । पूर्व निर्धारित प्रदर्शनका कार्यक्रमअनुसार मिथिला नगरपालिका संघर्ष समितिले लोकमार्गमा गत तीनदिनदेखि प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकारीले ढल्केवरस्थित पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केहीबेर राजमार्ग सडक अवरुद्ध समेत पारेका थिए । ‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दे’ लगायतका नारा सहित प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले नाराबाजी गर्दै आएका छन् । संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट समेत नागरिकता दिनु पर्ने मागसहित दवाव मुलक एक सप्ताहव्यापी आन्दोलनको कार्यक्रम गरिरहेको छ ।
केन्द्रीय संयोजक साफीका अनुसार देशभरि करिव साढे १३ लाख भन्दा बढी व्यक्ति नागरिकता विहिन छन् । देशभरि नै नागरिकता प्राप्तिका लागि विभिन्न चरणमा आन्दोलन गर्दैै आएपनि सरकारले आफुहरुको माग नसुनेको साफीको गुनासो छ । उनले सबै नागरिकता विहिनहरु आन्दोलनमा सहभागी नहुँदा पनि बल नपुगेको भन्दै नागरिकता विहिनहरुलाई आवाज बुलन्द गरी अधिकार प्राप्तिको संघर्षमा अघि बढ्न आग्रह गरेका छन् ।
रिहाईपछि ढल्केवरमा आन्दोलनको विषयमा सम्बोधन गर्दै नागरिकता विहिन संघर्ष समिति नेपालका केन्द्रीय संयोजक साफी