स्वागतम खबर
जनकपुरधाम, फागुन २३ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आफ्नै साथीमाथि गोली प्रहार गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ शिवपुरका करिब २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
यादवलाई आइतवार साँझ घटना पश्चात भारत तर्फ भाग्दै गरेको अवस्थामा धनौजी गाँउपालिका वडा नं. ४ स्थित नेपाल भारतको सिमा क्षेत्रमा पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताएका छन् । गत शनिवार राति कमला नगरपालिका–८ मा घर भई जनकपुरधाम–१९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो । अनुसन्धान गर्दा गोली लागेका मुकेश मुखिया र गोली हान्ने रुपेश यादव साथी रहेकोमा मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले ल्याएको पेस्तोल ल्याएकोमा त्यसै पेस्तोलबाट गोली चल्दा मुखिया सख्त घाइते भएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।
उनले दुवै जना साथी नै रहेको र तिनीहरुबीच कुनै विवाद नरहेको भन्दै खेलाँचीमै गोली लागेको अनुसन्धानबाट खुलेको बताए । गोली लागि घाइते भएका गम्भिर घाईते भएका मुकेशको हाल काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।