स्वागतम खबर
महेन्द्रनगर, फागुन २५ ।
मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरु विहिवार भगवानको डोला सहित विहिवार कञ्चनवन आउने भएको छ । परिक्रमा यात्रीहरुको स्वागतका लागि भन्दै महोत्तरीको भंगहा नगरपालिकाले विहिवार नगरभित्र सार्वजनिक बिदा दिएको छ ।
मिथिला माध्यमा परिक्रमा अन्तर्गत सातौं दिन भंगहा नगरपालिका वडा नं.–९ स्थित कञ्चनवनमा परिक्रमा यात्रीको टोली आउने भएकाले स्वागत सत्कारका लागि सार्वजनिक विदा दिइएको हो ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन विहिवार कञ्चनवनमा परिक्रमा यात्रीहरु विश्राम गर्ने हुँदा स्वागत सत्कारका लागि नगरभर सार्वजनिक बिदा दिइएको नगर प्रमुख संजिव साहले जानकारी दिएका छन् ।
विहिवार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवा बाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने जनाएको छ ।
कञ्चनवनमा प्रत्येक वर्ष परिक्रमा यात्री आएपछि ‘होली महोत्सव’को आयोजना हुँदै आएको छ । यस वर्ष पनि कञ्चनवनमा ‘होली महोत्सव’को आयोजना हुने भएको छ । मिथिला मध्यमा परिक्रमा यात्रीहरुसँगै त्यहाँ मेला हेर्न आउने भक्तजनहरु एकआपमा रंग अविर दलेर होली मनाउने गर्छन् ।
पौराणिक कालमा कञ्चनवनमा भगवान राम र माता सीताले होली खेलेको स्मरणमा यहाँका आउने परिक्रमाका यात्रीहरु होली मनाउने परम्परा रहेको छ । यस अघि महोत्तरीकै मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो ।
यता मिथिला माध्यमिकी परिक्रमा यात्रीहरु राम सीताको डोला सहित आठौं दिन धनुषाको क्षीरेश्वरनाथ दर्शन गर्दै पर्वतामा पुगेर विश्राम गर्नेछ । यस्तै नवौ दिन धनुषाकै प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा पुगेर विश्राम गर्नेछ ।