स्वागतम खबर
संखुवासभा, फागुन २६ ।
संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा. ४. ख ७३५ नम्बरको बस दुर्घटना भएको छ । बस दुर्घटना भएको स्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।
दुर्घटनामा मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमै मृत्यु हुनेहरुमा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की, तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ पनि रहेका छन् ।
त्यस्तै मादी नगरपालिका–५ कि ३० वर्षकी युका पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक तेह्रथुमका निरौला बसधनी तथा चालक हुन् भने मादी नगरपालिका–४ का भट्टराई सहचालक हुन् ।
दुर्घटनामा घाइते मादी नगरपालिका–५ बस्ने ३० वर्षीय सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ । उनीहरुलाई घटनास्थलबाट नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।
मादी नगरपालिका–६ को सातघुम्तीको सुरुकै घुम्तीबाट तीव्रगतिमा रहेका बस अनियन्त्रित भएर तल झरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले प्रारम्भिक अनुसन्धानका क्रममा तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको देखिएको बताएका छन् ।