स्वागतम खबर
जनकपुरधाम, फागुन २८ ।
नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भएका छन् । शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष कुमार यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
दोस्रो चरणको मतदानमा २ हजार ८ सय १४ मत खसेको थियो । योगेन्द्र पजियारले १ हजार ७ सय ३५ मत पाएका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी संतोष कुमार यादवले १ हजार ४६ मत पाएका छन् । यस्तै ३३ मत भने बदर भएको छ ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा पनि पजियारले १ हजार २ सय ४८ मत प्राप्त गर्दै पहिलो नम्बरमा थिए भने यादव ८ सय ८२ मत पाएर दोस्रो र शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसाद प्रसैलाले ६ सय ३० मत पाएर तेस्रो नम्बरमा थिए ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरका कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैलाले पजियारलाई समर्थन गरेका थिए ।