स्वागतम खबर
जनकपुरधाम,चैत २ ।
मिथिलाञ्चलकै प्रसिद्ध ऐतिहासिक तथा धार्मिक सबैभन्दा ठूलो तथा लामो पदयात्राको रुपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमा विहिवार जनकपुरधाम आउने भएका छन् । मिथिला मध्यमा परिक्रमाका यात्रीहरू (विहिवार जनकपुरधाम आइपुग्ने छन् ।
परिक्रमा यात्रीहरूको टोली भारतको विहार राज्यको करुणाबाट भगवान् राम तथा माता सीताको डोलासँगै बाजागाजा तथा भजनर्कितन झाँकी सहित बुधवार बिशौलमा विश्राम गर्दै छन् । १४औँ विश्राम स्थलको रपमा रहेको बिशौलमा रात्री विश्राम गरेपछि १५औँ विश्राम स्थलको रुपमा रहेको जनकपुरधाम आइपुग्ने छ ।
भारतको बिशौलबाट बिहान कल्याणेश्वर स्थान, गिरिजा स्थान हुँदै जनकपुरधाम आउने र ४ गते बिहान पञ्चकोशी अन्तर गृह परिक्रमा पुरा गरेपछि परिक्रमाका तीर्थ यात्रीहरू आ–आफ्नो घर जानेछन् । परिक्रमा यात्रीहरु घर फर्केपछि त्यसको भोलीपल्ट चैत ५ गते शनिवार तराई मधेशका जिल्लाहरूमा होली खेल्ने कार्यक्रम रहेको छ ।
त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मध्यमा मिथिला परिक्रमा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन् । नेपाल तथा भारतको धार्मिक, सास्ंकृतिक महत्व बोकेका मिथिला माध्यमिकी परिक्रमा दुवै देशका १५ पडाव स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल भारतको १ सय ३३ किलोमिटरको पैदल यात्रा गर्ने गरिन्छ ।
परिवारजनको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक पटक तथा केहीले एक पटक भए पनि मध्यमा मिथिला परिक्रममा सहभागी हुनुपर्ने धार्मिक मान्यताका साथ सहभागी हुने गरेका छन् ।
परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा स्थानीयबासी, व्यापारी, समाजसेवी लगायत विभिन्न संघसंस्थाले धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने गरेका छन् ।
फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको मध्यमा मिथिला परिक्रमा पूर्णिमाका दिन अन्तर गृह परिक्रमा सकेपछि सम्पन्न हुन्छ । अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अन्तगृह परिक्रमा नगरेको खण्डमा १५ दिनको परिक्रमाको फल प्राप्त नहुने जनविश्वासका साथ अनिवार्य रुपमा तीर्थ यात्रीहरू सहभागी हुने गर्छन् ।