स्वागतम खबर
धनुषा, चैत ११
जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय तहको चुनावअघि लाईसेन्सधारी हातहतियार बुझाउन आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनले अनुरोध गरेको छ ।
निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरु चैत मसान्तसम्म बुझाउन आग्रह गर्दै प्रशासनले नबुझाएमा कारवाही गर्ने चेतावनी नै दिएको छ ।
त्यस्ता हतियार निर्वाचन अवधिसम्मका लागि नजिकको प्रहरी कार्यालय वा इकाईमा बुझाउन सम्बन्धित हतियारधनीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गरेका हुन् । निर्वाचन सम्पन्न पश्चात सो हतियारहरु सम्बन्धित धनीलाई फेरी फिर्ता प्राप्त गर्ने उनले बताए । सूचनाको अवज्ञा गर्नेमाथि कानुन बमोजिम कारवाही गर्ने उनले बताए ।