स्वागतम खबर
जनकपुरधाम, चैत ११ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामबाट वेपत्ता भएको बालिकाको अपहरण भएको कुरा खुलेको छ । अपहरणमा परेकी ४ वर्षीया बालिकाको शुक्रवार प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ ।
जनकपुरधाम १६ स्थित पुल्चोकबाट बिहिबार साँझ ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि मण्डल वेपत्ता भएकी थिइन् । बालिकाको अपहरण भएको पाइएको र शुक्रबार उद्धार गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नम्बर–८ बफैबाट उद्धार गरिएको छ । बालिकालाई उद्धार गर्ने क्रममा अपहरण गर्ने व्यक्तिमध्येका एकजनाले आफ्नो दिदीको घरमा बालिकालाई राखेको पाइएको र खोजीकै क्रममा त्यहाँबाट बालिकालाई उद्धार गरिएको बस्नेतले बताएका छन् ।
यता अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा ५ राउण्ड हवाई फायर समेत गर्नु परेको प्रहरीले जनाएको छ । अपहरणकारी भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिएका छन् । बालिकाको अपहरण गरेर अपहरणकारीले १५ लाख फिरौती मागेको पाइएको उनले बताए । अपहरणमा संलग्न भएको आशंका प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
बालिका अपहरणको आरोपमा प्रहरीले कमला नगरपालिका वडा नं. ८ का गंगाप्रसाद दासका छोरा अभिषेक दास सहित पाँच जना पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बालिकाको बुवा जनकपुर पुलचोकस्थित डेरा गरी परिवार सँगै बस्दै आएका छन् । सोही घरमा भाडा लिएर बस्दै गरेका अभिषेक दासले बालिकालाई विहिवार विद्यालयबाट आएपछि अपहरण गरी लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकालाई परिवारजनको जिम्मा लगाइएको छ ।