स्वागतम खबर
जनकपुरधाम, चैत १५ ।
धनुषामा सवारी दुर्घटनामा एउटै मोटरसाइकलमा सवार चारजना बालकको ज्यान गएको छ । सोमबार साँझ करिब ८ बजेको समयमा धनुषाको सवैला नगरपालिका वडा नं. १२ को रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको ज्यान गएको हो ।
ज्यान जानेमा सबैला वडा नं. २ बस्ने वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव रहेको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । साथै दुर्घटनामा परि सोहि वडाका वर्ष १९ का सुरेन्द्र यादव गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एउटै मोटरसाइकलमा सवार पाँचै जना गम्भीर घाइते भएका थिए । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउँदा चारजना बालकलाई चिकित्सकले मृत घोषणा गरका छन् । एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता दुर्घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान भईरहेको डिएसपी बस्नेतले बताए ।
यता सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सोमवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का २७ वर्षीय तौखिन मिकरानी र मोटरसाइकलको पछाडि बसेका २६ वर्षीय मकवुल लहेरीको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा ज्यान गएको हो भने लहेरीको थप उपचारका वीरगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।