स्वागतम खबर
काठमाडौं, चैत १५ ।
सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता तथा हार र जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभई आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिनुभयो । अहिले पनि देशका धेरै पालिकामा कांग्रेस नै बलियो रहेको र यसलाई अझै सहज र व्यापक बनाउन गठबन्धन आवश्यक रहेकोमा सबैजसो नेता र केन्द्रीय सदस्य सहमत भएको महतको भनाई छ ।
स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि उहाँले बताउनुभयो । तर नेता शेखर कोइराला समूहले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ ।