स्वागतम खबर
सर्लाही, चैत १५ ।
सर्लाही जिल्लामा मन्दिरबाट चोरी भएको बहुमुल्य मुर्तीसहित एक जना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरीमा रहेको चतुर्भूजेश्वर महादेव मन्दिरबाट चोरी भएको मुर्तीहरु सहित चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हरिवन–११ का २० वर्षीय जितेन्द्र बैठा धोवी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । धोवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले बरहथवा बजारबाट पक्राउ गरेको हो । गत आईतबार बिहान करिब दुईबजे मन्दिरबाट गणेश, दुर्गा, विष्णु, सुर्य, कुमार, गंगा माताका मुर्ती सहित मन्दिरको घण्टी र पुजा आरतीका थालीहरु चोरी भएको थियो ।
पक्राउ परेका धोवीलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएका छन् ।