स्वागतम खबर
काठमाडौं, चैत १५ ।
नेपाल सरकारले विशेष अधिकार प्रयोग गर्दै ३ वर्षसम्मको लागि विद्युतीयमा रुपान्तरण गर्न छुट दिएको छ । यस्तो छुट दिएपछि नेपालमा अब पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न पाइने भएको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको हो । सरोकारवालाले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै आइरहेका बेला सरकारले सबै गाडीलाई वातावरणमैत्री हुने गरी फेरबदल गर्न स्वीकृति दिएको छ । हाल नेपालमा सवारीसाधनको अवस्था हेरेर भन्दा पनि २० वर्ष पुराना सबै सार्वजनिक यातायातका साधन चलाउन नपाउने व्यवस्था छ ।
यसलाई सरकारले प्रदूषण तथा सुरक्षाको कारण भन्दैै आएको छ । व्यवसायीहरुले २० वर्ष पुराना गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर र ब्याट्री राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिने बताउँदै आएका थिए । काठमाडौंमा चल्ने माइक्रोले आफूहरुलाई विद्युतीयमा रुपान्तरण गर्न दिए देशको अर्बौंरुपैयाँ जोगिनसक्ने भन्दै सरकारसँग विद्युतीयमा रुपान्तरण गर्न पहिलेदेखि नै माग गरिरहेका छन् ।