विनोद महतो
धनुषा, चैत १९ ।
धनुषाको शहीदनगरपालिका वडा नं. ७ धबौलीमा जारी दोस्रो शहीदनगर मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७८ को तेस्रो दिनको खेलमा जनकपुर स्पोर्टस क्लव विजयी भएको छ । शहीदनगर नगरपालिका वडा नं. ७ धबौलीको रा.प्रा.वि. खेल मैदानमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिवारको तेस्रो दिनको खेलमा शहीदनगर नगरपालिका र जनकपुर स्पोर्टस क्लवबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा शहीदनगर नगरपालिकाको टिमलाई हराउँदै जनकपुर स्पोर्टस क्लव ५ गोलले जित हात पारेको छ । सो खेलमा जनकपुर स्पोर्टस क्लवका खेलाडी प्रेम अधिकारीलाई मनोज चौधरीले म्यान अफ दि म्याचको कप प्रदान गर्नुभएको छ । यो जितसँगै जनकपुर स्पोर्टस क्लव प्रतियोगिताको दोस्रो सेमिफाइनलमा प्रवेश गरेको छ ।
यता २० गते आइतवार हुने चौथौ खेलमा श्री स्पोर्टस क्लव धबौली र यज्ञभूमि युवा क्लव धारापानीबीच प्रतिस्पर्धा हुने सह आयोजकले धवौली स्पोर्टस क्लवका बलराम कुमार मण्डलले जानकारी दिएका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चैत २१ गते सिरहाको गोलबजार स्पोर्टस क्लव र धनुषाको भरतपुर युवा क्लवबीच कडा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको अन्तिम फाइनल खेल चैत २४ गते हुने सहआयोजक श्री स्पोर्टस क्लव धबौलीले जनाएको छ । सो प्रतियोगितामा धनुषा, सिरहा र महोत्तरीका जम्मा ८ वटा टिमको सहभागिता रहेको छ ।
शहीदनगर नगरपालिका यदूकुहा धनुषाको आयोजना तथा श्री स्पोर्टस क्लव धबौलीको सह–आयोजनामा प्रतियोगिता संचालन भईरहेको छ ।