स्वागतम खबर
महेन्द्रनगर, चैत २५ ।
मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले युवा शक्तिलाई स्वदेशमै प्रविधि, सीप र दक्ष बनाएर रोजगारको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । मन्त्री सिंहले दक्षताका लागि तालिम दिएर मात्र नहुने भन्दै तालिम पश्चात सीप अनुसारको सामग्री समेत उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
विदेशबाट फर्किएका नेपालीहरुका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित सल्लाह सुझावका लागि शुक्रवार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय स्किल्स कार्यक्रमलाई सम्बोधन गर्दै मनत्री सिंहले प्रदेश सरकारले बेरोजागरहरुलाई लक्षित गर्दै विभिन्न सीप मूलक तालिमहरु संचालन गर्दै आएको बताउनुभयो ।
उहाँले बेरोजगारहरुलाई सीप मूलक तालिम मात्रै दिएर नहुने भन्दै सीप अनुसारकै रोजगार मुलक र आय आर्जन हुने खालको व्यवसायमा लगाउन र टिकाउन सीप अनुसारकै सामग्री सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी समेत दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले महिलाहरुलाई लक्षित गरेर समेत प्रदेश सरकारले विभिन्न सीप मूलक तालिम, प्रशिक्षण लगायतको कार्यक्रम ल्याएको बताउनुभयो ।
यता कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेशका बेरोजगारी युवायुवतीहरुलाई लक्षित गरी मधेश सरकारले रोजगार कल सेन्टर संचालन गर्नुपर्ने बताईन् । कल सेन्टर मार्फत बेरोजगारहरुको तथ्ंयाक पनि आउने र को, कहाँ कुन अवस्थामा छन्, कस्तो रोजागरी गर्न खोजेका छन्, उहाँहरुको सीप र दक्षता अनुसारको रोजगारीको अवसर सिर्जना गर्न सहज हुने सांसद यादवले भनिन् । उनी देशको विकास र वृद्धिका लागि जुट्नुपर्ने युवाशक्ति विदेशको भूमिमा पसिना चुहाउनु परेकोले हाम्रो देश, प्रदेश विकसित र समृद्ध हुन नसकेकको दावी गरिन् । देशको कमाउने शक्ति नै युवा शक्ति हो, तर युवाशक्ति विदेश छन् र बालबच्चा, वृद्धवृद्धा नेपालमा छन् अनि कसरी देश समृद्ध हुन्छ भन्दै उहाँले प्रश्न समेत गरिन् ।
हाम्रो देशको युवाशक्तिलाई आफ्नै देशमा सीप र दक्षता प्रदान गरी दक्षता अनुसारको रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनले बताईन् । सांसद यादवले प्रदेशमा मन्दिर मस्जिद बनाउन ठुलै रकम खर्च गरिन्छ तर विदेश जानेहरुलाई सीप र सहुलियत ऋण दिँदैन् भन्दै विदेश जानेहरुका लागि मधेश सरकारले सहुलियतपूर्ण ऋण र सीपको व्यवस्था गर्नुपर्नेमा जोड दिईन् ।
सोहि कार्यक्रममा मन्तव्य राख्दै नीति आयोगकी सदस्य प्रमिला सिंहले समृद्ध देश र प्रदेशका लागि प्राविधिक शिक्षाको सुरुवात प्राथमिक तहबाट गर्नुपर्नेमा बताईन् । प्राविधिक शिक्षाकै अभावका कारण नेपालमा दक्ष र सीपयुक्त जनशक्तिको अभाव रहेकोले बेरोजगारीको अवस्था भयावह देखिएको स्पष्ट गरिन् । उनी मधेश सरकारले अब प्राविधिक र सीप मुलक शिक्षामा जोड दिएर नीति तथा कार्यक्रम र योजनाहरु ल्याउनुपर्नेमा जोड दिईन् ।
यस्तै जनकपुर उद्योग वाणिज्य संघका काेषाध्यक्ष अम्बु प्रसाद साहले प्रदेशमा रोजगारीको अभाव नरहेको भन्दै दक्ष र सीपयुक्त जनशक्तिको अभाव रहेको बताउनुभयो । काम अनुसार सीपयुक्त दक्ष जनशक्ति अभावकै कारण भारतबाट हजारौं जनशक्ति ल्याएर उद्योग र कारखाना चलाउनु परेको स्पष्ट गर्दै उपाध्यक्ष साहले भने, –‘मधेश प्रदेशमा उद्यागै उद्योग छ, रोजगारीको कमी छैन् तर काम अनुसार दक्षता र सीपको कमी छ, सीप छैन्, काम गर्न जाँन्दैनन्, बाध्यताबस उद्योगीले भारतबाट जनशक्ति ल्याउनु पर्छ ।’
सो कार्यक्रममा विभिन्न वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आफुहरु पनि सधैँ विदेशमै बस्न नसक्ने भन्दै कमाएको पैसाले स्वदेशमै केही व्यवसाय गर्न खोजेकोले सरकारले पनि सहुलियतपूर्ण ऋण सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकहरुसँग रेमिट्यान्स र श्रमस्वीकृतिको नाउँमा रकम मात्र असुल्ने गरेको तर सो रकमले कहाँ के गरेको छ भनेर देखाउनुपर्ने माग गरेका थिए । कार्यक्रममा सहभागी ब्लु डाइमण्ड सोसाइटीका प्रदिप यादवले फरक क्षमताका व्यक्तिहरुको रोजगारीका लागि सरकारले कुनै चासो नलिएको गुनासो गर्नुभयो । उनले भने, ‘समाजमा फरक क्षमता भएको व्यक्तिहरु पनि छन्, उनीहरुको लागि पनि प्रविधियुक्त र सीप मूलक तालिमको आवश्यकता छ, उनीहरुको लागि पनि सरकारले सोच्नुपर्छ ।’
कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, यूएनडिपीका कल्पना सरकार, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल लगायतका वक्ताहरुले आ आफ्नो विचार र सुझाव राख्नुभएको शिक्षा पत्रकार समुहका प्रदेश अध्यक्ष दिपेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो । यता कार्यक्रममा स्वागत मन्तव्य शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले राख्नु भएको थियो ।
शिक्षा पत्रकार समूहको आयोजना तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, तथा मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय, युरोपियन युनियन, व्रिटिस काउन्सिल, दक्षता लगायतको सहयोगमा सो कार्यक्रम गरिएको छ ।