स्वागतम खबर
जनकपुरधाम, चैत २६ ।
प्रसिद्ध निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रमण कन्स्ट्रक्सनका सञ्चालक रहेका महतोले शनिबार पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको हो ।
जनकपुरधामको मेयरका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने महतो यस क्षेत्रमे पहिलो व्यक्ति हुनुहुन्छ । राजनीतिक दलबाट चुनाव जितेका प्रतिनिधिले स्थानीय तहलाई विकासभन्दा राजीनितिक अखडा बनाएर प्रयोग र जनमुखी काम नगरेको दावी गर्दै ‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं’ नाराका साथ मेयरमा उहाँले आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उम्मेदवारी घोषणाको क्रममा उहाँले ४ पृष्ठको आफ्नो उम्मेदवारी एजेण्डा, उद्देश्य समेत सार्वजनिक गर्नुभएको छ ।
जनकपुरधामको ऐतिहासक छविलाई कायम राखेर देशकै नमुना र सफा सहर, समृद्ध नगरको रूपमा स्थापित गर्ने उनले आफ्नो लक्ष्य रहेको उम्मेदवार महतोले चुनावी प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले ‘पूर्वाधार विकाससँग सम्बन्धित लामो पेशागत अनुभव, प्रशासनिक कार्यको अनुभव, स्थानीय नगरबासीको समर्थन, साथ, सहयोग, सुझाव र आशिर्वादबाट सबैको मन जितेर प्रदुषित नागरीको उपमनाम पाएको जनकपुरधामको पवित्र नगरीलाई स्वच्छ, सफा, हराभरा, ऐतिहासिक एवम् धार्मिक पर्यटकीय नगरीको रूपमा विकास गर्ने एक मात्र लक्ष्य हो,’ सुनाउनु भयो ।
उम्मेदवारी घोषणासँगै निर्माण व्यवसाय आफूले सन्यास लिएको समेत उहाँले दाबी गर्नुभयो ।
धनुषा जिल्लाको साविक रघुनाथपुर–४ का स्थायी घर भएका महतो १७ वर्षे सरकारी जागिर पश्चात वि.सं. २०४७ सालमा रकम कन्ट्रक्सनको स्थापना गरेर निर्माण व्यवसायीको रुपमा ३० वर्षदेखि देशको पूर्वाधार र विकास निर्माण काम गर्दै आएको छ । अब आफु कन्स्ट्रक्सनका मुख्य सञ्चालक नरहेको र सन्यास लिएको बताउनुभयो ।