स्वागतम खबर
महेन्द्रनगर, बैशाख २ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ मा नेपाली कांग्रेसले पार्टी प्रवेश कार्यक्रम भएको छ । नेपाली कांग्रेस कार्य समिति बटेश्वर गाउँपालिका वडा नं. ५ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिव ३ सय जना प्रवेश गरेको पार्टीले जनाएको छ ।
कांग्रेसका वडा सभापति तथा नेता धनेश्वर यादवको अध्यक्षता र केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम गरिएको छ । कार्यक्रममा नेता यादवले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई फुलमाला लगाएर गम्छा ओढाउँदै स्वागत गरेका छन् । नेपाली कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारको विशिष्ट आतिथ्यमा भएको सो कार्यक्रममा अतिथि बासुलाल महतो, फुल कुमारी सिंह, संजय यादव, वडाअध्यक्ष शिवकरण यादव लगायत दर्जनौ नेताहरुको उपस्थिति रहेको स्थानीय एक नेताले जानकारी दिएका छन् ।
कार्यक्रममा कांग्रेसमा प्रवेश गर्नेहरुदेखि लिए पार्टीका हजारौं स्थानीय महिला पुरुष नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कांग्रेसमा प्रवेश गर्नेहरुमा नेकपा एमाले, माओवादी केन्द्रका नेता कार्यकर्ताहरु रहेको कांग्रेसका पालिका कार्य समिति सचिव राकेश यादवले जानकारी दिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा माओवादीका प्रत्यासी अमित श्रेष्ठ, भुपु माओवादीका वडाअध्यक्ष हिरालाल यादव, एमालेका शत्रुधन मण्डल, घुरन मण्डल, रामविलास यादव, पुलकित मुखिया, भरोसी मण्डल, उतिम सहनी लगायतका ३ सय जना कांग्रेसमा प्रवेश गरेको सचिव यादवले बताएका छन् ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरुले आ आफ्नो पार्टीमा अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई धमाधम प्रवेश गराईरहेको छ । स्थानीय तहको चुनाव यहि बैशाख ३० गते हुँदैछ ।