स्वागतम खबर
जनकपुरधाम, बैशाख ३ ।
स्वास्थ्य सेवाका लागि रसायन तथा मेडिकल सामग्रीको व्यवसायिक कारोबार गर्दै आएको श्री रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (CHEMSAN) धनुषा शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
संघको धनुषा अध्यक्ष विनोद सरार्फको अध्यक्षता तथा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको प्रमुख आतिथ्यमा जनकपुरधाममा साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि महासेठले हरेक प्रकारको व्यवसायको छुट्टाछुट्टै संघ संगठन हुनुपर्ने आफ्नो व्यवसायिक सपना रहेको र त्यसकै एउटा कडीको रुपमा CHEMSAN गठन भई सांगठनिक रुपले लिएको बताउनुभयो । उहाँले व्यवसायिक संघ संगठनलाई राजनीति नर्गन भन्दै पूर्ण रुपमा आफ्नो व्यवसाय र त्यसको हकहित तथा सुरक्षाका लागि कार्य गर्नुपर्ने आग्रह गर्नुभयो ।
अध्यक्ष महासेठले यस वर्षलाई आफुहरुले व्यापारीक वर्षको रुपमा मनाउने योजनामा रहेको जानकारी समेत दिनुभयो । मधेश प्रदेश र खासमा जनकपुरधाम क्षेत्रमा उद्योग खोल्न व्यवसायीहरु ईच्छुक भएपनि बढी क्षेत्रफलको जग्गाको अभावले खोल्न समस्या भईरहेको उहाँले दावी गर्नुभयो ।
सो अवसरमा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले औषधिको साधक सामग्रीलाई भ्याटमा नराख्न सरकारलाई आग्रह गरेका छन् ।
साधारणसभामा जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, CHEMSAN का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कविराज पोखरेल, केन्द्रीय कार्यालयका सचिव दिपक गिरी, नेपाल औषधी व्यवासयी संघ धनुषाका अध्यक्ष सत्यनारायण साह, CHEMSAN का बर्दिवास महोत्तरीका अध्यक्ष नवराज तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा CHEMSAN का धनुषा शाखाका महासचिव राजेश झाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उदघोषण सचिव रामबाबु मण्डलले गर्नु भएको थियो । साधारणसभाको बन्द सत्रबाट रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (CHEMSAN) धनुषा शाखाको नयाँ समिति चयन गरिने तदर्थ समितिका सचिव रामबाबु मण्डलले जानकारी दिनुभयो ।