स्वागतम खबर
जनकपुरधाम, बैशाख ४ ।
धनुषा जिल्लामा यहि बैशाख ८ गतेदेखि टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुने भएको छ । जिल्लामा बैशाख ८ देखि १६ गतेसम्म खोप अभियान चल्ने छ । धनुषाको १८ वटै स्थानीय तहमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो ।
अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिएको छ ।
अभियानको क्रममा जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका २ लाख ९६ हजार ७ सय ७५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगलकिशोर यादवले बताएका छन् । उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुसारै धनुषामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो । टाइफाइड दूर्षित पानी र बासी सँडेगलेका खानेकुरा र फोहर हात मुँखमा जाँदा संक्रमण हुने रोग भएकोले सरसफाइमा बढी ध्यान दिनुपर्ने निमित्त प्रमुख यादवले बताए ।
पूर्ण खोपको सुनिश्चितता गर्न र खोप कभरेज ९५ प्रतिशत पु¥याउने लक्ष्य सहित अभियानकै रूपमा खोप लगाउने कार्यालयका खोप अधिकृत राजदेव यादवले बताए । उनका अनुसार लक्षित समूहका अधिकांश बालबालिका विद्यालयमा नै भेट्ने भएकाले खोपबाट कोही बालबालिका नछुट्ने गरी जिल्लाका सबै पालिकाको वडास्तरको सामुदायिक र निजी विद्यालयहरुमा खोप टोली परिचालन गरिने छ ।
स्वास्थ्य कार्यालयका अनुसार धनुषाको ७ सय ६२ वटा सामुदायिक र निजी विद्यालयहरु खोप अभियान संचालन गरिनेछ । विद्यालयमा जान नसकेका वा छुटेका बालबालिकालाई वडाको स्वास्थ्य केन्द्र, हेल्थपोष्टमा पनि खोप दिनेछ । जिल्लाभरिमा १ हजार ६२ खोप केन्द्र मार्फत खोप अभियान सञ्चालनका लागि २ हजार १ सय २४ जना स्वयंसेवक परिचालन गरिने छन् । त्यस्तै, २ सय १५ वटा खोप टिम खटाइनेछ भने १ सय ६८ जना स्थानीय सुपरभाइजरसमेत खट्ने कार्यालयले जनाएको छ ।