स्वागतम खबर
ढल्केवर, बैशाख १६ ।
मिथिला नगरपालिकामा नेकपा एमालेबाट अन्तिम समयमा उटिक नपाएर पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतो अन्नतः उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । अब उनले एमालेको पार्टीका मेयरको उम्मेदवार राजारम महतोलाई सहयोग गर्ने बताएका छन् ।
स्वतन्त्रमा मेयर पदमा उम्मेदवारी दिएपछि उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयले महतोलाई बोलाएको थियो । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईंको व्यवस्थापन गर्छु भनेपछि आफुले उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेको उनले बताए । मनोनय दर्ताको क्रममा बैशाख १२ गते सोमबार अन्तिम समयमा एमालेले राजाराम महतोलाई मेयरको टिकट दिएपछि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।
नेकपा एमाले नगर समितिबाट हरिनारायण महतोलाई मेयरको उम्मेदवारको लागि एकल सिफारिस गरेको थियो । तर टिकट अन्ततः राजाराम महतोले पाउन सफल भएका थिए । राजाराम रियलस्टेट व्यावसायी हुन् । २०७४ को निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए ।
राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएका थिए । एमालेका केन्द्रीय सदस्य रहेको निवर्तमान मेयर हरिनारायणले टिकट वितरतरणमा रघुवीर महासेठले चलखेल गरेको आरोप लगाएका थिए ।