स्वागतम खबर
धनुषा, बैशाख १६ ।
घुस रकम सहित रैगे हात पक्राउ परेका मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झा विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जग्गा सम्बन्धी हक सफा मुद्दामा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख घुस माग गरिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको थियो ।
झालाई जनकपुरधामको भानुचौकबाट गत चैत २८ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग घुस वापत ५ लाख माग गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर भएकोले झालाई ५ लाख बिगो कायम गरि अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
झा माथि पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन समेतको मागदावी लिई शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।