स्वागतम खबर
महेन्द्रनगर, बैशाख २३ ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उम्मेदवारहरुले अहिले जनताको घर घरमा भोट माग्न व्यस्त भएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले भोट माग्दै जनतामा घरदैलो पुग्न थालेका छन् । क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदका उम्मेदवार तथा निवतर्मान नगर प्रमुख योगेन्द्र पजियार सहित वडाअध्यक्ष पदका उम्मेदवारहरु भोट माग्दै जनताको घरदैलोमा पुग्न थालेका छन् ।
अभियानकै क्रममा शुक्रवार क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वरपुरमा घरदैलो गरेको छ । चुनाव नजिकीएसंगै नेपाली कांग्रेस वडा नं ८ ले चुनावी अभियान अन्तर्गत घरदैलोसंगै चुनावी प्रचार प्रसार समेत तिव्रता दिएको छ । शुक्रवार नेपाली कांग्रेस वडा नं ८ ले दिगम्वरपुर देखि सितानगर, ईच्छापुर र देवकोटा टोलमा घरदैलो कार्यक्रम गरेको स्वागतम खबरकर्मीले जानकारी दिएको छ ।
घरदैलोमा क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदको उम्मेदवार योगेन्द्र पजियार, उपमेयर पदका उम्मेदवार रचना माथेमा र वडा नं ८ का वडा अध्यक्षका उम्मेदवार मोद कुमार महतो (मोदी)ले जनताको घर घरमा पुगेर मत मागेका छन् । उनीहरुले मतदातालाई आफ्नो अमुल्य मत दिई जिताउन आग्रह गरेका छन् । वडामा आफु लगायतको प्यानल जितेमा विकासका बाँकी अधुरा कामहरु पुरा गर्ने वडाअध्यक्ष पदका उम्मेदवार मोद कुमार महतो (मोदी)ले बताए ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ मा वडा अध्यक्षमा मोद कुमार महतो (मोदी) सहित महिला सदस्यमा राम कली देवी महतो, दलित महिला सदस्यमा तप्सी कुमारी महरा, खुल्ला सदस्यमा मिथिलेश महतो र जग बहादुर हेन्जनले उम्मेदवारी दिएपछि अहिले भोट माग्दै घरदैलो अभियानमा लागेको हुन् ।