स्वागतम खबर
महेन्द्रनगर, बैशाख २६ ।

असानी चक्रवातको प्रभावले चुनावका दिन देशभरि वर्षाको सम्भावना रहेको छ । स्थानीय तहको निर्वाचनका दिन बैशाख ३० गते पनि पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले ‘स्थानीय तहको निर्वाचन २०७९ को लागि विशेष मौसम पूर्वानुमान बुलेटिन (१’ जारी गरी मतदानका दिन सातै प्रदेश वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । साथै, दक्षिण बंगालको खाडीमा उत्पन्न ‘असानी’ नामको चक्रवातका कारण हावाहुरी आउने र वर्षा हुने सम्भावना समेत रहेको छ । उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र बैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिएको छ ।
उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना छ । जसको कारण बैशाख २८ बुधबारदेखि बैशाख ३१ गते शनिबारसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।